अखबर/बुटवल
शनिबार बुटवल उपमहानगर वडा नं. २ मा रहेको उजिरसिहं मा.वि.को प्रागंण प्रयोग गरी व्यक्तिगत अनुष्ठान विवाह कार्यक्रम सम्पन्न भयो । शनिबार विहानैदेखी विहेको तयारीमा जुटेको यो विद्यालयको परिसरमा भव्य टेण्ड र बेन्डबाजासहित धुमधामसँग विहे भएको भैरहेको थियो । राती अबेरमात्रै आएका जन्तिहरुलाई स्वागत गर्न घरपक्षमा मानिसहरु विद्यालय प्रागंणभित्रै थिए । विद्यालयको ग्राउण्डमा भव्य पार्टी चलिरहेको थियो भने एक छेउमा विवाहको जोडी बस्ने आकर्षक मञ्च र अर्काे छेउमा चर्काे आवाजमा बेण्डबाजाहरु बजिरहेका थिए । यो क्रम रातभर नै चल्यो, विद्यालयको विदाको दिन भएको कारण विद्यालयको प्रागंण प्रयोग गरेर विहे गरिएको थियो ।

विद्यालय सरकारी हो, त्यसैपनि सरकारी संरचना व्यक्तिगत प्रयोजनको लागी प्रयोग गर्न पाईने कुरै भएन अझ त्यसमाथी विद्यालय जस्तो शान्ति र संवेदनशिल क्षेत्रमा गैरशैक्षिक गतिविधि गर्नु नीतिगत रुपमा ऋुटी मात्रै होईन कमजोरी पनि हो । विद्यालय समुदायकै सम्पति हो, समुदायमा अनेक मान्यता र प्रथा परम्परा बोकेका मानिस पनि हुन्छन्, एउटा व्यक्तिको विहे प्रयोजनको लागी विद्यालयले सरकारी सम्पत्ति प्रयोग गर्न दिनु कति जायज हो ?
आईतबार विहान १० बजे हामी विद्यालयमा पुग्दा हिजोको पार्टीको अवशेषहरु बाकी नै थियो, टेण्टहरु भत्काईदै थियो भने पार्टीको कुर्चि र कार्पेटहरु जम्मा हुँदै थियो । हिजो भएको गतिविधिबारे जिज्ञासा राख्न विद्यालयका प्र.अं. पदमराज ज्ञवालीलाई भेट्यौ, उनले आफूले यो विषय ईस्सु बन्ला भनेर नसोचिकनै विद्यालयको विदाको दिन पढाईलाई डिस्टब नहुने भएपछि निशुल्क रुपमा उपलब्ध गराएको जानकारी गराए । अझ अचम्मको कुरा त के छ भने एउटा व्यक्तिको विवाहको लागी पूरै विद्यालय प्रयोग गर्न दिईएको थियो, तर विद्यालय व्यवस्थापन समितिको कुनै बैठक वा निर्णय यसबारे भएको थिएन । हामीले विद्यालयमा विवाह गर्न दिने बारे भएको निर्णय माग्यौ, विद्यालयका प्रअले त्यस्तो कुनै निर्णय र छलफल नभएको गैरजिम्मेवार जवाफ दिए ।

यता बुटवल उपमहानगरपालिकाका पूर्व उपमेयर समेत भैसकेका विमलराज शाक्य अहिले सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष छन्, यस विषयमा जिज्ञासा राख्दा उनले, आफूलाई अरु धेरै कुरा थाहा नभएको बताए ।

यता यसै विषयमा वडा नं. २ का वडा अध्यक्ष सुनिल शाक्यले सरकारी विद्यालय व्यक्तिगत कामको लागी प्रयोग गर्नु गैरकानुनी भएको भन्दै यसबारे आफूलाई विद्यालयले कुनै जानकारी नगराएको बताए ।
स्थानीय व्यापारी अनिलकुमार हलुवाईले आफ्नो छोरीको विहेका लागी विद्यालय प्रयोग गरेका हुन्, उनले विद्यालयको हिरक जयन्ती मनाएको बेलामा रु ५०,०००÷– रुपैयाँ सहयोग गरेका थिए, विद्यालयले सोही गुनको पैचो तिरेको स्थानीय जानकारहरुले बताउँछन् ।
विदाको दिन हुँदैमा एउटा सरकारी विद्यालय व्यक्तिगत प्रयोजनको लागी दिन मिल्छ ? यो विषयमा हामीले बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं लामो समय शिक्षा शाखा प्रमुख भएर काम गरेका मित्रमणि खनालसँग पनि जिज्ञासा राखेका थियौ, उनले व्यक्तिगत प्रयोजनको लागी विद्यालय प्रयोग हुनु गलत भएको र यसबारे विद्यालय जवाफदेही हुनुपर्ने बताए ।
यस्तै जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख माधव बन्जाडेले विद्यालय चलेको दिन वा विदाको दिन कुनै पनि प्रयोजनको लागी विद्यालय गैरशैक्षिक गतिविधिमा प्रयोग गर्न नहुने बताए ।
विद्यालय सरकारी संरचना त हो नै त्यसमाथी विद्यालय शान्ति क्षेत्र पनि हो, यसरी विद्यालयको संरचना व्यक्तिका विहे पार्टी, भोज भतेर, ब्रतबन्धमा प्रयोग गर्दा एकातिर सरकारी संरचनाको दुरुपयोग हुन्छ भने अर्काेतिर सामाजिक रुपमा गलत नजिरसमेत बस्छ । आज एकजनाले प्रयोग गर्दा भोली त्यस्तै अर्काे व्यक्तिले माग्दा दिने कि नदिने ? समुदायमा बस्ने सबै व्यक्ति समान हुन्छन्, उनीहरु सबैको समान अधिकार हुन्छ । भोली अर्काे कुनै अनुष्ठानको लागी कसैले यसैगरी संरचना मागेमा के गर्ने ? यस्ले सामाजिक रुपमा गलत नजिर स्थापित गर्दछ ।
विद्यालय सामुदायिक हो, यसलाई जोगाउने जिम्मेवारी पनि समुदायकै हो तर समुदायका व्यक्तिहरुको सहयोग विना विद्यालय जोगिन सक्दैन तर यसरी व्यक्तिगत प्रयोजनका कुनै पनि बाहानामा विद्यालयको क्षेत्र प्रयोग गर्नु सरकारी संरचनाको दुरुपयोग र लापरबाही हो । शिक्षालय नितान्त शैक्षिक गतिविधि गर्ने थलो हो, यसलाई गैरशैक्षिक गतिविधीमा प्रयोग हुन दिनु हुँदैन । यसबारे सम्बन्धित व्यक्ति, नियमन निकाय र स्थानीय सरकार पनि चनाखो हुन जरुरी छ ।
भिडियो रिपोर्ट हेर्नुहोस् ः
https://youtu.be/o_IodEDHsLI?si=9xCvQnaGY1MlA1U3