बुटवल ।  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल, रुपन्देहीले जेष्ठ महिनाको कार्य प्रगति तथा सवारी दुर्घटनाको त्रैमासिक र मासिक समीक्षा विवरण सार्वजनिक गरेको छ।  जेठ महिनामा गरिएका विभिन्न कारबाहीहरूबाट मात्रै कुल १ करोड ४८ लाख ३१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ। सार्वजनिक गरिएको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा तीव्र गतिका कारण सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेको पाइएको छ।
जेठ महिनाभर चालकको कमजोरीका कारण भएका कुल सवारी दुर्घटनाहरूमध्ये ९९ वटा दुर्घटना तीव्र गतिका कारण मात्र भएका हुन्। यसबाहेक चालकको कमजोरीका कारण १८ वटा र मादक पदार्थ सेवन ९मा।प।से।० का कारण १७ वटा दुर्घटना भएका छन् भने अनावश्यक ओभरटेक, निन्द्रा र थकान, मोबाइलको प्रयोग तथा लेन अनुशासन उल्लंघनका कारण पनि दुर्घटनाहरू दर्ता भएका छन् ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक निशान थापाका अनुसार वैशाख महिनाको तुलनामा जेठमा समग्र सवारी दुर्घटना, मृत्यु र घाइतेको संख्यामा भने केही कमि आएको छ। वैशाख महिनामा १८९ वटा सवारी दुर्घटना भएकोमा जेठमा घटेर १५० पुगेको छ। त्यसैगरी वैशाखमा सडक दुर्घटनामा परी ७३ जनाले ज्यान गुमाएकोमा जेठ महिनामा उक्त संख्या ४० मा झरेको छ भने घाइतेको संख्या पनि ३८६ बाट घटेर २५५ पुगेको छ।

दुर्घटना र क्षतिमा कमि आउनुमा ट्राफिक प्रहरीको सक्रियता र चेतनामूलक अभियानलाई मुख्य कारण मानिएको थापाले बताए । जहाँ वैशाखको तुलनामा जेठ महिनामा कारबाही संख्या १०,९११ बाट बढेर १२,८०५ पुर्‍याइएको छ भने जनचेतना कार्यक्रमबाट लाभान्वित हुनेको संख्या पनि ५२,३५५ बाट वृद्धि भई ७७,०५३ पुगेको छ।

ट्राफिक प्रहरीले जेठ महिनामा विभिन्न क्षेमा कारबाही र राजस्व संकलनलाई तीव्र बनाएको छ। जसअन्तर्गत मा।प।से। तर्फ १,११३ वटा कारबाहीबाट ६ लाख ९१ हजार रुपैयाँ, गलत स्थानमा पार्किङ गर्ने ५९६ सवारीबाट ४ लाख ५८ हजार ५०० रुपैयाँ, रातो बत्ती र इसारा उल्लंघन गर्ने ५६८ सवारीबाट २ लाख ९६ हजार रुपैयाँ तथा लेन अनुशासन उल्लंघन गर्ने २३४ सवारीबाट १ लाख २९ हजार ५०० रुपैयाँ राजस्व उठेको छ। साथै बिना लाइसेन्स सवारी चलाउने ९ला।प।से।० १ जनालाई मुद्दा चलाइएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन जङ्ग बुढाथापाका अनुसार रुपन्देही र कपिलवस्तु जिल्लामा क्षमताभन्दा बढी भार ९ओभरलोड० बोक्ने २,५१४ वटा सवारी साधनहरूलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाई २५ लाख ९१ हजार ४०० रुपैयाँ राजस्व संकलन गरिएको छ। सवारी साधनको नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियान अन्तर्गत ७,०७९ वटा सवारी साधनको नम्बर प्लेट सुधार गर्न लगाइएको छ भने स्वरूप परिवर्तन गरेका १० वटा सवारी साधनलाई कारबाही गरी १ लाख ३ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।

प्रविधि र व्यवस्थापनतर्फ पनि ट्राफिक प्रहरीले बुटवल उप–महानगरपालिका वडा नं. ८ स्थित बसपार्क अगाडि सुरक्षा यात्रा नेपालसँगको सहकार्यमा १ थान क्यामेरा जडान गरेको छ। बुटवल नगरभित्र मापदण्ड विपरीत सञ्चालनमा रहेका १२२ वटा अटो, टेम्पो र ईरिक्साहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि १११ वटा नगरपालिका पठाइएको छ भने ११ वटालाई होल्डमा राखिएको छ।

यस महिनामा बाँके र बर्दिया क्षेत्रमा २७५ वटा सवारीको यान्त्रिक चेकजाँच र १,८३ जना चालकहरूको स्वास्थ्य परीक्षण समेत गरिएको छ। हराएका ३ थान मोबाइल र २ थान झोला फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाउनुका साथै बुटवल क्षेत्रबाट १०५ वटा छाडा चौपाया व्यवस्थापन गरिएको र प्युठानका सडकका घुम्तीहरूमा  क्यामेराहरु गरिएको प्रगती विवरणमा उल्लेख छ।