एजेन्सी । वैज्ञानिकहरुले एउटा यस्तो भीमकाय ‘ब्ल्याक होल’ फेला परेका छन्, जुन उनीहरुको सिद्धान्तअनुसार त्यो अस्तित्वमा नै हुनुहुँदैन ।उक्त ब्ल्याक होल एउटा ‘स्टेलर ब्ल्याक’ होल हो । यस्तो ब्ल्याक होल ठूलो ताराको मृत्युपश्चात विस्फोट भएर पैदा हुन्छ ।

यसअघि यस्ता ब्ल्याक होलको आकार अधिकतममा हाम्रो सूर्यभन्दा २० गुणा ठूलो मात्र हुने अनुसन्धानकर्ताहरुको विश्वास रहेको थियो । ताराहरु मरेपछि हुने विष्फोटमा उनीहरुले आफ्नो धेरै जसो तŒव र ग्यास गुमाउने हुँदा ब्ल्याक होलको आकार धेरै ठूलो नहुने उनीहरुको सिद्धान्त रहेको थियो ।

यो सिद्धान्तलाई हालै फेला परेको ब्ल्याक होल एलबी–वानले असत्य प्रमाणित गरिदिएको छ ।

हाम्रो पृथ्वीभन्दा १५ हजार प्रकाश वर्ष टाढा रहेको उक्त ब्ल्याक होलको आकार हाम्रो सूर्यभन्दा ७० गुणा ठूलो रहेको चिनियाँ एकाडेमी अफ साइन्सद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ ।

चिनियाँ अनुसन्धानकर्ताहरुले आफ्नो खोजलाई ‘द नेचर’ जर्नलमा प्रकाशित गरेका छन् ।

‘स्टेलर एभोलुसनबारे अहिलेको अधिकांश सिद्धान्तअनुसार यत्रो ठूलो आकार भएको ब्ल्याकहोल हाम्रो आकाशगङ्गामा अस्तित्वमा नै नहुनुपर्ने हो,’ यो खोज गर्ने टोलीका प्रमुख लिउ जिफेङले भने, ‘एलबी–वानको आकार हामीले सम्भाव्य ठानेकोभन्दा दुई गुणा ठूलो रहेको छ । अब सिद्धान्तवादीहरुका अगाडि यसको निर्माणलाई व्याख्या गर्ने चुनौति आएको छ ।’

एलबी–वानको आकार कसरी यत्रो ठूलो भयो भनेर वैज्ञानिकहरु यतिबेला आश्चर्यचकित छन् ।