एजेन्सी, ४ पुस । भारतमा नागरिकता कानुनको विरोध भइरहँदा उर्दु लेखक तथा व्यंग्यकार मुज्तबा हुसेनले पद्मश्री सम्मान फिर्ता गर्नुभएको छ ।
देशको वर्तमान अवस्थाबाट दुखी भएको भन्दै उहाँले पद्म सम्मान फिर्ता गर्नुभएको हो । उहाँले भन्नुभएको छ, ‘पहिले नेता राजनेता हुन्थे, अचेल यस्तो छैन, म आजको अवस्थाबाट खुसी छैन, एक नागरिकको रुपमा खुसी छैन । भीडले मानिसको हत्या गरिरहेको छ । बलात्कार भइरहेको छ, आपराधिक गतिविधि हरेक समय बढिरहेको छ ।’
उर्दु साहित्यमा योगदान दिए वापत हुसेनले २००७ मा देशको चौथो ठूलो नागरिक सम्मान पद्मश्रीबाट मुज्तबा हुसेन सम्मानित हुनुभएको थियो । उहाँले लोकतन्त्र पनि कमजोर भएको र कुनै व्यवस्थामा देश नचलेको बताउनुभयो । १९८३ देखि हुसेनले दर्जनौँ पुस्तक लेख्नुभएको छ ।