अनखबर

काठमाडौं, १५ पौष । 

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सूचना प्रविधि विधेयक अघि बढाइएकोप्रति गम्भीर आपत्ति जनाएको छ।

बुधबार महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सूचना प्रविधि विधेयक अघि बढाइएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । विचार तथा अभिव्यक्ति लेखेकै भरमा पाँच वर्ष जेल र १५ लाख रुपैया जरिवाना वा दुवै सजाँय सहितको कठोर दण्ड व्यवस्था गरिएको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने महासंघको ठहर छ।’

यसका साथै महासंघले सूचना प्रविधिसम्बन्धी विधेयकका कतिपय प्रावधान आमसञ्चारको क्षेत्रलाई नियन्त्रण गर्न दुरुपयोग हुन सक्ने गम्भीर खतरा देखिएको भन्‍दै संविधान र राष्ट्रिय आमसञ्चार नीति २०७३ को आधारमा महासंघसहित अन्य सम्बद्ध सबै पक्षसँग छलफल गर्नु पर्ने बताएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘महासंघ नेपाल कम्युनिष्ट पार्टी संसदीय दल र महासंघबीच मिति २०७६ असार २३ गते सञ्चारसम्बन्धी अन्य विधेयक ल्याउदा संविधान र राष्ट्रिय आमसञ्चार नीति २०७३ को आधारमा महासंघसहित अन्य सम्बद्ध सबै पक्षसँग छलफल गरी संसदीय प्रक्रियाबमोजिम निष्कर्षमा पुग्ने भनी जनाइएको प्रतिवद्धता स्मरण गराउन चाहन्छ।’