२४ पौष । ड्यूक अफ सकिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका छन्।
एउटा विज्ञप्ति प्रकाशित गर्दै उनीहरूले यूके र उत्तर अमेरिका दुवैतिर समय व्यतीत गर्ने जनाएका छन्।
उक्त विज्ञप्ति प्रकाशन गर्नुअघि उनीहरूले महारानी एलिजावेथ वा राजकुमार विलियम कसैसँग पनि परामर्श नगरेको र बकिङ्गम प्यालेस त्यसबाट “निराश” भएको बुझिएको छ।
बुधवार अप्रत्याशित रूपमा निकालिएको आफ्नो विज्ञप्तिमा आफूहरूले धेरै महिना सोचविचार र छलफल गरेर उक्त निर्णय गरेको उल्लेख गरेका छन्।
उनीहरूले उक्त विज्ञप्ति सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि राखेका छन्।
ह्यारी र मेगनको विवाह मे २०१८ मा भएको थियो ।
“हामी राजपरिवारका ‘वरिष्ठ’ सदस्यको भूमिका त्याग्न र आर्थिक रूपमा स्वतन्त्र हुन काम गर्न चाहन्छौँ। यद्यपि हामी महारानीलाई निरन्तर पूर्ण समर्थन गरिरहनेछौँ।”
महारानी, कमनवेल्थ र आफू संरक्षक भएका संस्थासँग सम्बन्धित कर्तव्य निर्वाह गर्दै यूके र उत्तर अमेरिकामा समय व्यतीत गर्ने आफ्नो योजना भएको उनीहरूले बताएका छन्।
“यो भौगोलिक सन्तुलनले हामीलाई हाम्रा छोरालाई शाही परम्पराको सम्मान गर्दै हुर्काउन समर्थ बनाउनेछ। त्यसो गर्दा हाम्रो परिवारलाई नयाँ परोपकारी संस्थाको आरम्भ गर्न सहित नयाँ अध्यायमा केन्द्रित हुन ठाउँ दिनेछ।”
‘ठूलो मतभेद’
बीबीसीका शाही संवाददाता जोनी डाइमन्डका अनुसार जे घोषणा भयो त्योभन्दा पनि विनापरामर्श भएकाले राजपरिवार बढी दु:खित भएको हुन सक्छ ।
“यसले एकातिर ह्यारी तथा मेगनबीच र अर्कातिर बाँकी राजपरिवारबीच ठूलो मतभेद भएको स्पष्ट रूपमा देखाउँछ।”
ह्यारी र मेगन छोरा लिएर बिदा मनाउन क्यानडा गएका थिए
बकिङ्गकम प्यालेसकी एक प्रवक्ताका अनुसार ह्यारी र मेगनको निर्णयबारे राजपरिवारमा प्रारम्भिक चरणमा छलफल भएको छ।-बिबिसी नेपाली